चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ।

बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गर्नुका साथै विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव अझै उच्च रहेकाले सडक किनारबाट तत्काल डाइभर्सन निर्माण गर्न सम्भव नभएपछि खानेपानी पम्प हाउसतर्फ जाने भित्री ‘ट्रयाक’ खोलेर सवारी सञ्चालन गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए।

उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा सडक किनारबाटै पुनः स्थायी प्रकृतिको डाइभर्सन निर्माण गरिनेछ।

रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाएको थियो। यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।

हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। ती स्थानमा पनि छिट्टै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी सडक मर्मत तथा डाइभर्सन निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ।

सडक खुलाउन सोमबार बिहानदेखि विभिन्न खण्डमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पन्छाउने काम तीव्र पारिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ