बाढी–पहिरोले अवरुद्ध भए देशका प्रमुख राजमार्ग

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही ठाउँमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टीकाभैरव–चारधारे सडकमा पहिरो खसेपछि एकतर्फी यातायात चलिरहेको छ। कान्तिलोकपथको ताकुर्चे खण्ड भने पूर्ण रूपमा बन्द छ।

रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै सडकखण्ड अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरुद्ध छन्। मनाङको बेँसीसहर–खाडसार सडक बाढीका कारण बन्द हुँदा म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पहिरोका कारण ठप्प भएका छन्।

त्यस्तै, मुस्ताङको जोमसोम–कोरला सडक, पर्वतको मालढुंगा–बेनी सडक तथा मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्गमा समेत पहिरोका कारण आवागमन रोकिएको छ।

बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। गुल्मीको कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द रहँदा पाल्पाको सिद्धार्थ राजमार्गमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यात्रुलाई यात्रा अघि सम्बन्धित प्रहरी कार्यालय वा स्थानीय निकायसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ