रुपन्देहीका ३८ प्रतिशत किशोरीमा रक्तअल्पता

रुपन्देही । जिल्लामा किशोरीहरूमा रक्तअल्पताको समस्या बढ्दो देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा गरिएको परीक्षणमा ११ हजार ४४४ किशोरीमध्ये ४ हजार ३२१ जनामा रक्तअल्पता पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स दीपा खड्काले प्रजनन स्वास्थ्यसम्बन्धी अवस्थाबारे जानकारी दिँदै उक्त तथ्यांक सार्वजनिक गरेकी हुन्। उनका अनुसार परीक्षण गरिएका किशोरीमध्ये करिब ३८ प्रतिशतमा रक्तअल्पता देखिएको हो।

उनले किशोरकिशोरीकै उमेरदेखि प्रजनन स्वास्थ्यबारे आवश्यक जानकारी र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन्।

स्वास्थ्य कार्यालयका अनुसार सोही आर्थिक वर्षमा स्वास्थ्य संस्थामा जाँच गराएका महिलामध्ये १४ जनाको मातृ मृत्यु भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

प्रजनन स्वास्थ्यसम्बन्धी सरोकारवालाको छलफलमा असुरक्षित गर्भपतन, २० वर्षभन्दा कम उमेरमा हुने गर्भधारण तथा सुत्केरी र प्रजननसम्बन्धी स्वास्थ्य समस्यामा सुधारका लागि थप पहल आवश्यक रहेको बताइएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले प्रजनन स्वास्थ्य समन्वय समितिको भूमिका, योजना तथा सरोकारवालासँगको सहकार्यबारे जानकारी दिँदै यस क्षेत्रमा काम गर्ने संस्थासँग समन्वयलाई निरन्तरता दिने बताइन्।

कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले ‘समसारा’ परियोजनामार्फत रुपन्देही, कपिलवस्तु र नवलपरासीमा किशोरकिशोरीको प्रजनन स्वास्थ्य तथा महिला हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार र महिलाको अधिकार सुनिश्चित गर्न समितिले आवश्यक समन्वय तथा पहल गर्ने प्रतिबद्धता जनाए।

छलफलमा भीम अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शैलजा घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी, सिद्धार्थनगर नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष बसन्त भट्टराई, नेपाल परिवार नियोजन रुपन्देहीका प्रमुख शोभाकान्त न्यौपाने, स्वास्थ्य कार्यालयका वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डे र नेपाल रेडक्रस सोसाइटीका हिराचन्द नेपाललगायत सहभागी थिए।

उनीहरूले किशोरकिशोरीको स्वास्थ्य सुधारका लागि बृहत्तर यौनिकता शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ