आज कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।

देशका तराई भूभागमा आंशिक बदली रही बिहानीपख हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ