हुम्ला । हुम्लामा गएरातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। अदानचुली, ताँजाकोटलगायत तल्लो क्षेत्रमा भने रातिदेखि हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक गतिविधिसमेत प्रभावित भएको छ।
लगातारको वर्षाले ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटो हिलाम्मे भएका छन्। कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि आवतजावत तथा यातायात सेवा प्रभावित भएको स्थानीयले बताएका छन्।
सर्केगाड–१ जैरका दीपक कार्कीका अनुसार खच्चामा सुक्खा पहिरो खसिरहने समस्या रहेकामा निरन्तर वर्षाका कारण सडक थप जोखिमपूर्ण बनेको छ।
वर्षाका कारण पाक्न लागेको अन्नबाली, तरकारी तथा खेतबारीमा रहेका अन्य बालीमा समेत क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ।
वर्षा र हिमपातका कारण पशुचौपायासमेत प्रभावित भएका छन्। चिसो बढेसँगै खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार र संरक्षणमा समस्या भएको स्थानीयले बताएका छन्।
मौसममा आएको अचानक परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जिल्लाका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेकाले सुरक्षित रहन आग्रह गरे। वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।
हुम्लामा अहिले पनि वर्षा जारी रहेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द