गड्डाचौकीमा दसैँ मनाउन घर फर्किनेको भीड

कञ्चनपुर । दसैँ नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली घर फर्किन थालेका छन्। उनीहरूको आवागमन बढेपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा चहलपहल बढेको छ।

भारतको उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली र पञ्जाबलगायत क्षेत्रमा मजदुरी गर्दै आएका नेपाली परिवारसँग दसैँ मनाउन स्वदेश फर्किरहेका छन्। उनीहरू चाडपर्व सकिएपछि पुनः रोजगारीका लागि भारत फर्किने तयारीमा छन्।

देहरादुनमा सडक निर्माणको काम गर्ने अछामको ढकारीका खगेन्द्र बुढा पाँच जना साथीसहित घर फर्किएका छन्। नेपालमा पर्याप्त रोजगारी नहुँदा भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यता रहेको उनले बताए।

त्यस्तै, हिमाचल प्रदेशमा कृषि मजदुरका रूपमा काम गर्ने कालीकोटका निगेन्द्र शाही पनि दसैँ मनाउन घर आएका छन्। भारतमा गरेको कमाइले घरखर्च चलाउने गरेको बताउँदै उनले तिहारपछि काममा फर्किने जानकारी दिए।

दिल्लीमा सुरक्षा गार्डको काम गर्ने मीनबहादुर कठायत पनि दसैँ सुरु भएपछि घर फर्किएका छन्। चाडपर्व मनाएर पुनः रोजगारीमा जाने उनको योजना छ।

चाडपर्वका बेला यात्रुको चाप बढेपछि प्रहरीले गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार यात्रुको सुरक्षाका लागि निगरानी बढाउनुका साथै तालिमप्राप्त कुकुरबाट पनि जाँच भइरहेको छ।

भारतबाट फर्किने यात्रामा स्वास्थ्य जोखिमलाई ध्यान दिँदै नाकामा डेङ्गु, मलेरिया, एचआईभीसहित छ प्रकारका रोगको परीक्षणको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ