चक्रवात ‘अर्नब’ को प्रभाव घट्दै, आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ। शनिबार अपराह्नदेखि भने यसको प्रभाव कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेस र बागमतीका धेरै स्थान तथा गण्डकीका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यीमध्ये कोशी, मधेस र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।

शनिबार राति वर्षाको क्रम घट्ने देखिए पनि हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।

आइतबार देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ