फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक

सुर्खेत । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य फोक्सुन्डो ताल भ्रमणमा गएका दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। अत्यधिक हिमपातका कारण शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन्।

स्थानीयवासीका अनुसार शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित नुमला पास र वागला पास हुँदै रिग्मोस्थित फोक्सुन्डो तालतर्फ जाने क्रममा पर्यटकहरू सम्पर्कविहीन भएका हुन्।

शनिबारदेखि लगातार भइरहेको हिमपात र प्रतिकूल मौसमका कारण पदमार्ग अवरुद्ध हुँदा खोजी तथा उद्धारमा कठिनाइ भएको छ। उनीहरू बाटोमै रोकिएका हुन् वा सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन् भन्नेबारे यकिन हुन सकेको छैन।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ। तल्लो डोल्पामा भने वर्षा जारी छ।

यसअघि मौसम प्रतिकूल हुने पूर्वानुमानपछि प्रशासनले कात्तिक १२ गतेदेखि माथिल्लो डोल्पाका उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न र पदयात्रीलाई सुरक्षित स्थानमा रहन सूचना जारी गरेको थियो।

प्रशासनको तथ्याङ्कअनुसार उक्त अवधिमा माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा १४९ नेपाली, सार्क मुलुकका ४४ र अन्य देशका ५१ गरी २४४ पर्यटक पुगेका थिए।

प्रमुख जिल्ला अधिकारी जुनु हमालले उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकको अवस्थाबारे नियमित जानकारी लिइरहेको र आवश्यक परे उद्धार तथा राहतका लागि संयन्त्र तयारी अवस्थामा राखिएको बताइन्। खोजी तथा उद्धारका लागि सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय भइरहेको उनले जानकारी दिइन्।

समुद्री सतहबाट करिब ३ हजार ६ सय मिटर उचाइमा रहेको फोक्सुन्डो ताल लोकप्रिय पर्यटकीय गन्तव्य हो। तर, उच्च हिमाली क्षेत्रमा मौसममा आउने आकस्मिक परिवर्तन र हिमपातका कारण यहाँको पदयात्रा जोखिमपूर्ण हुने गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ