भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ मंगलबारदेखि सुरु भएको छ।

नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा ‘तिहारको उत्सव, फूलको महोत्सव’ नारासहित सुरु भएको एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरिन्।

उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नर्सरी व्यवसायले उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको बताइन्। उनले यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गरेको उल्लेख गरिन्।

उनले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन केन्द्रमार्फत गुणस्तर नियमन भइरहेको जानकारी दिँदै नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा प्राप्तिको समस्या समाधान गर्न भूमि बैंकको अवधारणा कानुनी व्यवस्थामार्फत अघि बढाउने तयारी भइरहेको बताइन्।

आयोजकका अनुसार एक्स्पोमा ६३ व्यावसायिक, ६ आधिकारिक र ४ प्रतिस्पर्धात्मक गरी कुल ७३ स्टल राखिएका छन्।

एक्स्पोमा तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत फूल तथा विभिन्न प्रजातिका बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्री, कृषि प्रविधि, औजार र मलखाद प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। एउटै छानामुनि फूल तथा कृषि सामग्री उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा अवलोकनकर्ताले विभिन्न प्रजातिका फूल र बिरुवाबारे जानकारीसमेत लिन सक्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ