भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणमा नेपाल–भारतबीचका द्विपक्षीय सम्बन्ध, क्षेत्रीय परिस्थिति र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुनेछ। मन्त्रालयले दुई देशबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने उद्देश्य भ्रमणको रहेको जनाएको छ।

मन्त्रालयले मिस्रीको भ्रमणले दुई देशबीच हुँदै आएका उच्चस्तरीय कूटनीतिक आदानप्रदानलाई निरन्तरता दिँदै आपसी साझेदारी थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

यसैबीच, प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी पनि भइरहेको छ। उनी मंसिर पहिलो साता भारत जाने चर्चा रहे पनि दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरेका छैनन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिवसँगको भेटपछि आपसी सहमतिमा भ्रमणको मिति तय हुनेछ।

प्रधानमन्त्रीसँगको भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणासमेत हस्तान्तरण गर्नेछन्।

मिस्रीको भ्रमणअघि नै नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा राजदूतको जिम्मेवारी सम्हाल्नेछन्। भारत सरकारले गत असोज ३० गते उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ