बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ मा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा अन्य सात जना सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जिप भामचौरस्थित डाँडाइजर सुडेधार खोलामा सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

दुर्घटनामा केदारस्युँ–७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा केदारस्युँ–७ का प्रेमबहादुर धामी, रमेश धामी (दुई जना), रामकुमार धामी र रेखा धामी तथा दुर्गाथली–६ की शारदा धामी जाग्री छन्।

काँडाचौरबाट स्थानीय बासिन्दा बोकेर बाग्थलातर्फ जाँदै गरेको जिपमा १५ जना सवार थिए। ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

घाइतेहरूलाई केदारस्युँ गाउँपालिकाको गाडीमार्फत जिल्ला अस्पताल सिमखेत पुर्‍याइएको छ। प्रहरीले जिप चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ