चीनसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउँदै अमेरिका

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू), जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेका छन् ।

अमेरिकी सर्वोच्च अदालतले यसअघि ट्रम्प प्रशासनले घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो । सोही अनुसन्धानका आधारमा नयाँ शुल्क प्रस्ताव गरिएको हो ।

प्रस्तावअनुसार चीनबाट आयात हुने वस्तुमा सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनामबाट आयात हुने वस्तुमा ३५ प्रतिशतसम्म तथा अन्य देशबाट आयात हुने वस्तुमा २० देखि २५ प्रतिशतसम्म शुल्क लगाउन सकिनेछ ।

चीनमाथि हाल २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव छ । तर अमेरिका र चीनबीचको अस्थायी व्यापारिक सहमति आगामी जनवरी १०, २०२७ मा समाप्त भएमा यो दर ४० प्रतिशतसम्म पुग्न सक्नेछ ।

नयाँ शुल्कको प्रस्तावबाट चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत प्रभावित हुनेछन् ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन् ।

तर अर्थशास्त्रीहरूले भन्सार शुल्कका कारण आयात लागत बढ्ने, त्यसको भार उपभोक्तामाथि पर्ने र वस्तुको मूल्य वृद्धि हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार यस्तो नीतिले विश्व व्यापारसमेत संकुचित बनाउन सक्छ ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन र रोजगारी वृद्धि गर्ने उद्देश्यले विभिन्न देशमाथि भन्सार शुल्क लगाउने नीति अघि बढाउँदै आएका छन् । उनले यसअघि पनि विभिन्न देशमाथि शुल्क लगाएका छन् वा लगाउने चेतावनी दिएका छन् ।

नयाँ शुल्क तत्काल लागू हुने छैन । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले प्रस्तावमाथि सार्वजनिक टिप्पणी तथा सुझाव संकलन गर्ने जनाएको छ । यसका लागि आगामी ५ जनवरी २०२७ सम्म लिखित सुझाव दिन सकिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ