जिन्दगी कहीँ–कतै अल्झिरहेजस्तो
गाँठाहरूमाझ गाँठो परिहरेजस्तो
पहाड हेरुँ विश्वासहरूको चाङहरू
नदी हेरुँ अपेक्षाहरूको बहावजस्तो
जिन्दगी न खोलाजस्तो न नदीजस्तो ।
**************
रहस्यका पत्रहरू उप्किरहन्छन् हरेक बिहान
रहस्य रहस्यमय रहँदैन साँझसम्म
साँझले बिहान देखाउँछ
बिहानले साँझ देखाउँछ
सूर्यको प्रकाशले जीवन देखाउँछ
जीवनले मृत्यु देखाउँछ
न जीवन देखिन्छ न मृत्यु देखिन्छ
बाघचालका बाघ र बाख्राझैँ
कहीँ थुनिन्छ, कहीँ सकिन्छ
र फेरि अर्को विश्वास पलाउँछ
**************
जिउनका लागि सास चाहिन्छ कि साहस !
बग्नका लागि पानी चाहिन्छ कि जमिन !
जिन्दगी कहिले समथर मैदानमा विश्राम गर्छ
कहिले अनकन्टार टाकुरा चढ्ने हिम्मत गर्छ
सागरको फेदमा डुबिरहेको जिन्दगी
कहिले आकाशभन्दा माथि–माथि उडिरहन्छ
जिन्दगी कहीँकतै हिँडिरहेजस्तो
उडिरहेजस्तो
डुबिरहेजस्तो
बगिरहेजस्तो
जमिरहेजस्तो
घाउ पुरिन लाग्छ फेरि उप्काउँछ समयले
जिन्दगी बल्झिरहने घाउजस्तो ।
**************
नयाँ–नयाँ बिहानका लागि तयार जिन्दगी
पुराना–पुराना रातका लागि तयार जिन्दगी
जिन्दगी कहीँ–कतै अल्झिरहेजस्तो
गाँठाहरूमाझ गाँठो परिरहेजस्तो
स्वादिलो कविताजस्तो जिन्दगी
रहस्यका क्यानभासमा
चित्रित सुन्दर, असुन्दर
कहीँकतै स्वतन्त्र चराजस्तो
जिन्दगी कहीँ–कतै अल्झिरहेजस्तो
सुवास छर्दै वरिपरि
पल्टिरहेको
नयाँ किताबको पानाहरूजस्तो ।









विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
भोटेकोशी त्रासदी : भोग्न विवश सभ्यताहरू