ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि गोदावरीमा सञ्चालन गरिएको आवासीय सुविधासहितको अस्थायी विद्यालयको निरीक्षण गरेकी छन्।
मंसिर ५ गते विद्यालयको स्थलगत निरीक्षण गरेकी मन्त्री बादीले बालबालिकाको पढाइ, आवास, खानपान, पोषण, स्वास्थ्य तथा समग्र हेरचाहको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले जाडो मौसमलाई लक्षित गरी अध्ययनरत बालबालिकालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन्।
गत भदौ १० गतेको बाढीका कारण हाकुबेसी आधारभूत विद्यालयको पठनपाठन अवरुद्ध भएपछि विस्थापित बालबालिकाको शिक्षा र संरक्षणलाई निरन्तरता दिन मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीचको समझदारीमा अस्थायी विद्यालय सञ्चालन गरिएको हो।
कक्षा १ देखि ८ सम्मका ६७ जना बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको विद्यालयमा हाल ४९ जना अध्ययनरत छन्। विद्यालयको शैक्षिक, आवासीय तथा दैनिक व्यवस्थापनको जिम्मेवारी पुनर्निर्माण अभियान नेपालले सम्हाल्दै आएको छ।
निरीक्षणका क्रममा मन्त्री बादीले बालबालिकालाई उपलब्ध गराइने खानाको गुणस्तर र पोषणमा विशेष ध्यान दिन तथा उनीहरूको स्वास्थ्य, दैनिक हेरचाह र समग्र व्यवस्थापन प्रभावकारी बनाउन अभियानलाई निर्देशन दिएकी थिइन्।
उनले बालबालिकासँग करिब एक घण्टा छुट्टै छलफलसमेत गरेकी थिइन्। छलफलमा बालबालिकाले भोगिरहेका समस्या, विद्यालयको वातावरण, उपलब्ध सुविधा र आवश्यकताबारे जानकारी लिएकी मन्त्री बादीले उनीहरूसँग आत्मीय संवाद गरेकी थिइन्। उनले केहीबेर बालबालिकासँग भलिबल खेलेर पनि समय बिताएकी थिइन्।
निरीक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव शान्तकुमार भण्डारीसहित परिषद् सचिवालयका सदस्यहरूको टोली सहभागी थियो।
सदस्य सचिव भण्डारीले मन्त्री स्वयं स्थलगत निरीक्षणमा पुगेर बालबालिकासँग छुट्टै छलफल गर्नुले उनीहरूप्रतिको संवेदनशीलता र चासो देखाएको बताए। उनले विपद् प्रभावित बालबालिकाको शिक्षा र संरक्षणका लागि अस्थायी विद्यालय सञ्चालन गर्नु सरकारको उदाहरणीय काम भएको उल्लेख गरे।
यसैबीच, सरकारले विपद् प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह र स्याहार सुनिश्चित गर्न ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयन गरिरहेको छ। योजनाले बालबालिकालाई सम्भव भएसम्म आफ्नै परिवारमा सुरक्षित रूपमा हुर्कने वातावरण तथा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा निरन्तर पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।








मोदीसँगको वार्तामा नेपालको हितलाई केन्द्रमा राख्न बालेनलाई रविको सुझाव
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय
मोरङमा अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
यस्तो रहनेछ आजको मौसम
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल