फाप्ला क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भइरहेका बेला सुदूरपश्चिमका क्रिकेटप्रेमीका लागि खुसीको खबर आएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रिया अघि बढाएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रंगशाला निर्माणको ठेक्का प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्।

उनका अनुसार ठेक्काअन्तर्गत मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने र प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्ने काम समेटिएको छ।

‘सुदूरपश्चिम प्रदेशको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएका छौँ,’ मन्त्री लम्सालले भने।

उनले सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको यस आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।

रंगशाला निर्माणले खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासमा समेत योगदान पुर्‍याउने लक्ष्य राखिएको मन्त्री लम्सालले बताए।

आज एनपीएलको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ