काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह आइतबार छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। आठ महिनाअघि प्रधानमन्त्री बनेका साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिलोपटक द्विपक्षीय भेटवार्ता गर्दैछन्।
सन् २०१४ देखि निरन्तर भारतको नेतृत्व गरिरहेका मोदीसँगको भेटलाई नेपालको राजनीतिक अस्थिरता र भारतको निरन्तर नेतृत्वबीचको भिन्नताका रूपमा समेत हेरिएको छ।
नेपालमा पछिल्लो १२ वर्षमा पटकपटक सरकार परिवर्तन भए पनि मोदीले भारतमा तीन कार्यकालदेखि नेतृत्व गरिरहेका छन्। नेपालका विभिन्न प्रधानमन्त्रीसँग काम गरिसकेका मोदी नेपाल–भारत सम्बन्धका जटिलता, सीमा विवाद, सन्धि–सम्झौता, पारवहन, ऊर्जा तथा अन्य द्विपक्षीय मुद्दाबारे जानकार छन्।
यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री साहलाई मोदीसँगको वार्तामा संयमित, तथ्यपरक र पर्याप्त तयारीका साथ प्रस्तुत हुन सुझाव दिएका छन्।
शुक्रबार रवि र बालेनबीच भएको करिब तीन घण्टाको भेटवार्तामा भारत भ्रमणका एजेन्डा र प्रधानमन्त्रीको प्रस्तुतिबारे छलफल भएको थियो। राजनीतिमा अनुभवी र चतुर खेलाडी मोदीसँगको वार्तामा पर्याप्त तयारी आवश्यक रहेको रविको सुझाव थियो।
नेपाल–भारत सम्बन्धका साना विषयमा समेत जानकार रहेका मोदीसँग कुनै पनि मुद्दालाई हल्का रूपमा लिन नहुने र संयमित ढंगले नेपालको धारणा राख्नुपर्ने उनले बताएका थिए।
जवाफमा प्रधानमन्त्री साहले आफू नेपाल–भारत सम्बन्धका विषयमा जानकार रहेको बताउँदै भ्रमणको आवश्यक तयारी गरिरहेको उल्लेख गरेका थिए। दुई नेताबीच भ्रमणका एजेन्डा, नेपालले उठाउनुपर्ने विषय र वार्तामा प्रस्तुत हुने शैलीबारे समेत छलफल भएको थियो।
नेपालको हितसँग जोडिएका विषयमा हिचकिचाउन नहुने र दृढतापूर्वक आफ्ना कुरा राख्नुपर्ने रविको सुझाव थियो। प्रधानमन्त्री पनि त्यसका लागि गम्भीरतापूर्वक तयारीमा रहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
‘नेपाल–भारत सम्बन्धको विषयमा हामी तथ्यपरक रूपमा प्रस्तुत हुनुपर्छ। कुनै पनि विषयमा सामान्य तयारीले हुँदैन। त्यहीअनुसार तयारी गर्न सभापतिज्यूले पनि प्रधानमन्त्रीलाई भन्नुभएको छ। प्रधानमन्त्री पनि गम्भीर ढंगले तयारीमा रहेको बुझेका छौँ’, रविको सचिवालयले भनेको छ।
प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा सभापति लामिछाने पनि विमानस्थलमा बिदाइका लागि पुग्न सक्ने सचिवालयले जनाएको छ। त्यो सम्भव नभए उनले टेलिफोनमार्फत शुभकामना दिने तयारी गरेका छन्।








मोदीसँगको वार्तामा नेपालको हितलाई केन्द्रमा राख्न बालेनलाई रविको सुझाव
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय
सिता बादी पुगिन् बाढी प्रभावित बालबालिकाको अस्थायी विद्यालयमा
मोरङमा अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री साहलाई राज्यमन्त्रीले स्वागत गर्ने