काठमाडौं । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषय र जलवायु वित्तमा सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) ठोस सम्झौताविना सकिएको छ।
शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलनको वार्ता सहमति जुटाउने प्रयासमा आइतबार अबेरसम्म लम्बिए पनि अन्तिम मस्यौदामा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको प्रत्यक्ष उल्लेखसमेत हुन सकेन।
जीवाश्म इन्धनको विषय हटाइएपछि युरोपेली संघ (ईयू), प्रशान्त टापु राष्ट्र र अन्य देशहरूले आपत्ति जनाएका थिए। ईयूका प्रतिनिधि डाराग ओब्रायनले जीवाश्म इन्धनको उल्लेख नभएको जलवायु सम्झौता स्वीकार्य नहुने बताएका थिए। पनामा र मार्सल आइल्यान्ड्सले पनि मस्यौदा अपर्याप्त रहेको टिप्पणी गरेका थिए।
यसअघि सार्वजनिक प्रारम्भिक मस्यौदामा जीवाश्म इन्धनको उल्लेख ६ पटक गरिएको थियो। तर, तेल उत्पादक राष्ट्रहरूको विरोधपछि अन्तिम मस्यौदाबाट ती उल्लेख हटाइएका थिए। साउदी अरेबिया र रुसले पनि जीवाश्म इन्धनबाट तीव्र गतिमा टाढिने प्रस्तावप्रति असहमति जनाएका थिए।
जलवायु परिवर्तनको असरबाट प्रभावित गरिब तथा विकासशील राष्ट्रलाई धनी देशहरूले उपलब्ध गराउनुपर्ने वित्तीय सहयोगमा पनि स्पष्ट प्रतिबद्धता आउन सकेन। अनुकूलनका लागि वित्तीय सहयोग तीन गुणा बढाउने यसअघिको सहमतिलाई कार्यान्वयन गर्ने रकम, समयसीमा र मापनको आधार अन्तिम दस्ताबेजमा समेटिएन।
सम्मेलनको नतिजाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गहिरो निराशा व्यक्त गरेका छन्। उनले जीवाश्म इन्धन उद्योगका शक्तिशाली स्वार्थ समूहले वैज्ञानिक तथ्यलाई बंग्याउने र जलवायु नीतिमा ढिलाइ गराउने काम गरिरहेको आरोप लगाए।
जलवायु वित्त र जीवाश्म इन्धनको विषयमा देखिएको मतभेदले जलवायु संकट सामना गर्न विश्वव्यापी सहकार्यमा चुनौती थपिएको छ। (बीबीसी)








विवाह संस्थालाई चुनौती दिँदै रुपा र देवको सहजीवन
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
भोटेकोशी बाढीपीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन