अन्ताल्या । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) का क्रममा नेपाली युवा तथा आदिवासी जनजाति अगुवासहित अन्तर्राष्ट्रिय जलवायु अभियन्ताहरूले भोटेकोशी बाढीपीडितको सम्झनामा सांकेतिक प्रदर्शन गरेका छन्।
सम्मेलनस्थलमा मृतकको प्रतीकात्मक पुतला राखेर गरिएको प्रदर्शनमा सहभागीहरूले जलवायु न्याय, क्षतिपूर्ति र ऋणरहित जलवायु वित्त उपलब्ध गराउन विश्व समुदायसँग माग गरेका छन्।
नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न प्रदर्शन गरिएको हो।
जलवायु अभियन्ता आकृति डोटेलले नेपालले पर्याप्त सहानुभूति पाए पनि अब वास्तविक क्षतिपूर्ति र जलवायु वित्त आवश्यक रहेको बताइन्। प्रभावित समुदायको पुनःस्थापनाका नाममा ऋणको भार थप्न नहुने उनको भनाइ थियो।
अभियन्ता प्रयास अधिकारीले जलवायु सम्मेलनका प्रतिबद्धता र दस्तावेजले प्रभावित समुदायको जीवनमा परिवर्तन ल्याउन नसकेको बताए। भोटेकोशी विपद् जलवायु अनुकूलनमा देखिएको कमजोरीको उदाहरण भएको उनले उल्लेख गरे।
त्यस्तै, अभियन्ता प्रज्ञा शेरचनले जलवायुजन्य क्षति अर्बौं डलरमा भइरहे पनि विकसित राष्ट्रका प्रतिबद्धता पर्याप्त नभएको बताइन्। उनले हानि तथा नोक्सानी कोषमा विकसित देशहरूले पर्याप्त रकम उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
प्रदर्शनकारीहरूले जलवायु संकटमा न्यून योगदान गरेका नेपालजस्ता देशले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अनुकूलन, हानि तथा नोक्सानी र न्यायपूर्ण रूपान्तरणका लागि पर्याप्त तथा अनुदानमा आधारित वित्त उपलब्ध गराउन माग गरेका छन्।
प्रदर्शनको अन्त्यमा भोटेकोशी विपद्मा ज्यान गुमाएका तथा सर्वस्व गुमाएका समुदायको सम्झनामा मैनबत्ती बालेर एक मिनेट मौनधारण गरिएको थियो। सहभागीहरूले जलवायु न्यायलाई प्रतिबद्धतामा सीमित नराखी राहत, पुनःस्थापना र क्षतिपूर्तिमा रूपान्तरण गर्न विश्व नेतृत्वसँग आग्रह गरेका छन्।








भोटेकोशी बाढीपीडितको सम्झनामा कोप–३१ मा प्रदर्शन
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
संविधान र लोकतन्त्रको रक्षाका लागि जनता उठ्नुपर्छ : ओली
चितवनबाट सुरु भयो चलचित्र ‘मोहनी’ को छायांकन
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति