दशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल आज (मंगलबार) देखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि केही खेलको प्रतिस्पर्धा भने त्यसअघि नै सुरु हुन लागेको हो।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार आजदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल सञ्चालन हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। ३२ खेलका ३८४ इभेन्ट्स समावेश प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। खेलहरू कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र रुकुमपश्चिमका साथै लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन हुनेछन्।

सबैभन्दा बढी २२ खेल सुर्खेतमा आयोजना हुनेछन्। बाँके र बर्दियामा दुई–दुई तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन्। दैलेख, कालिकोट, जुम्ला र रुकुमपश्चिममा पनि विभिन्न खेल आयोजना गरिनेछन्।

राष्ट्रिय खेलकुदको समापन मङ्सिर २७ गते सुर्खेतमा हुनेछ। प्रतियोगितामा स्वर्ण पदक जित्ने व्यक्तिगत खेलाडीले २० हजार, रजत विजेताले १५ हजार र कास्य विजेताले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यसअघि नवौँ राष्ट्रिय खेलकुद २०७९ सालमा गण्डकी प्रदेशको पोखरामा आयोजना भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ