कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत पाँच हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट पानी नछोड्दा किसानले सुविधा पाउन सकेका छैनन्।
ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ बितिसकेको छ। किसानका खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भएका छन् भने आठवटा निर्माणको अन्तिम चरणमा छन्। तर, भारतले पानी नछोड्दा तयार संरचना प्रयोगविहीन बनेका छन्।
आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार निर्माण सम्पन्न मूल नहरमा चार वर्षअघि नै पानी परीक्षण गरिएको थियो। त्यतिबेला टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो। तर त्यसयता नहरमा पानी सञ्चालन हुन सकेको छैन।
भारतीय पक्षको टनकपुरस्थित नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले दिल्लीबाट आदेश आएपछि मात्रै पानी छोड्ने जवाफ दिने गरेको मरासिनीले बताए। उनका अनुसार यस विषयमा पटकपटक पहल गरिए पनि समस्या समाधान भएको छैन।
‘माथिल्लो तहबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा आशावादी छौँ,’ उनले भने।
महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले हिउँदमा ३०० र वर्षायाममा एक हजार क्युसेक पानी पाउनुपर्ने व्यवस्था छ। सन्धिअनुसार भारतले टनकपुरबाट नेपाली सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहरसमेत बनाइसकेको छ।
आयोजना निर्देशक मरासिनीका अनुसार केही दिनअघि दुवै देशका अधिकारीबीच काठमाडौंमा यस विषयमा छलफल भएको थियो। मन्त्रालय र भारतीय पक्षले मागेका विवरणसमेत उपलब्ध गराइसकिएको उनले बताए। प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा यो विषयले प्राथमिकता पाए समस्या समाधान हुने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको आयोजना पर्याप्त बजेट अभावका कारण लामो समय सुस्ताएको थियो। सरकारले आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको हो।
आयोजनाअन्तर्गत कुल १५१ किलोमिटर नहर निर्माण सम्पन्न भएपछि कैलाली र कञ्चनपुरका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य छ। हालसम्म आयोजनामा १० अर्ब ७४ करोड रुपैयाँ खर्च भइसकेको छ। चालु आर्थिक वर्षमा करिब दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
१० अर्ब खर्चेर नहर बन्यो पानी आएन
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते
एनपिएलमा आज को-को भिड्दैछन् ?
पहिरोले बिपी राजमार्ग अवरुद्ध,तत्काल खुल्ने सम्भावना न्यून