मोदीसँग मख्ख नपर्न बालेनलाई भारतीय सांसद महुआको सन्देश

काठमाडौं । भारतको विपक्षी दल तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले प्रधानमन्त्री वालेन्द्र साहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको निकटतामा नअल्झिन भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जाल एक्समा बालेनलाई मेन्सन गर्दै उनले एकातिर मोदीले आत्मीयता देखाएर नेपालको निकट बन्न खोजेको तर अर्कोतिर नेपाली मूलकी आमाका सन्तानलाई विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् ।

उनले भारतीय युवा अभियन्ता सौरभ दासलाई बेलायतको अक्सफोर्ड युनियनमा सम्बोधन गर्न जानबाट रोकिएको घटनालाई यसैसँग जोड्दै प्रश्न उठाएकी हुन् । दासलाई नेपाली मूलकी आमाको सन्तान भएकै कारण विदेश जान रोकिएको उनको दाबी छ ।

यसअघि भारतको निर्वाचनमा नेपालबाट विवाह गरेर गएका महिलालाई मतदान गर्न रोकिएको विषय पनि विवादमा आएको थियो । उक्त घटनाप्रति भारतीय बौद्धिक वर्ग र विपक्षी नेताहरूले आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री साह आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । भेटपछि दुवै पक्षले दुई नेताबीचको आत्मीयता झल्किने तस्बिर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ