काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा चैत पहिलो हप्ता भारत भ्रमणमा जाने भएकी छिन् ।
राजधानी नयाँदिल्लीमा हुने १० औं रायसिना संवादमा भाग लिन मन्त्री राणा ३ दिने भ्रमणका लागि भारत जान लागेकी हुन । रायसिना संवाद चैत ४ देखि ६ गतेसम्म हुँदैछ ।
रायसिना संवाद भूराजनीति र भू–अर्थशास्त्रमा भारतको प्रमुख सम्मेलन हो । हरेक वर्ष राजनीति, व्यवसाय, मिडिया र नागरिक समाजका नेताहरू विश्वको अवस्थाबारे छलफल गर्न र समसामयिक मामिलाबारे विस्तृत दायरामा सहयोगका अवसरहरू खोजी गर्न नयाँ दिल्लीमा भेला हुन्छन् ।
भारत भ्रमणका क्रममा मन्त्री राणाले संवाद कार्यक्रमको सत्रमा भाग लिनुका साथै भारत सरकारका उच्चस्तरीय अधिकारीहरू र केही विदेशी सहभागीहरूलाई पनि भेट्ने कार्यक्रम छ ।
गत वर्ष भएको रायसिना संवादमा तत्कालीन परराष्ट्र मन्त्री एनपी साउदले भाग लिएका थिए । सरकारले संवादका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई पठाउने योजना बनाएको थियो । तर पौडेल आगामी आर्थिक वर्षको बजेट तयारीमा संलग्न हुनुपरेकोले परराष्ट्रमन्त्री राणा सहभागी हुन लागेकी हुन् ।
गत असारमा मन्त्री बनेपछि राणाको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि अगस्टमा उनी भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्लीको भ्रमण गरेकी थिइन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, समकक्षी जयशंकर र अन्य वरिष्ठ भारतीय नेता तथा अधिकारीहरूसँग भेटवार्ता भएको थियो ।
त्यसपछि उनी डिसेम्बरमा स्वास्थ्य जाँचका लागि दोस्रो पटक नयाँ दिल्ली गएकी थिइन् । यद्यपि उनले त्यो भ्रमणको क्रममा कुनै आधिकारिक भेटघाट गरिनन् । तर केही कार्यक्रममा भाग लिइन् ।
मन्त्री राण निकट स्रोतका अनुसार रायसीना संवादमा भाग लिनुअघि परराष्ट्रमन्त्री राणा स्वास्थ्य परीक्षणका लागि फागुन २६ मा नै नयाँ दिल्ली जाने तयारीमा छिन् । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार उनी आफ्नो अर्को चरणको फलोअप उपचारका लागि नयाँ दिल्ली जानुपर्ने भएकोले व्यक्तिगत भ्रमणमा सम्भवतः फागुन २६ मा नयाँ दिल्ली जाने छिन् ।
‘यदि उनको स्वास्थ्य परीक्षण चाँडै पूरा भयो भने उनी काठमाडौं फर्कनेछिन् र रायसीना संवादको लागि फेरि दिल्ली जानेछिन् । तर स्वास्थ्य परीक्षण ढिलो भयो भने, उनी त्यहीं बस्नेछिन् र संवादमा भाग लिएर फर्कनेछिन्’, ती अधिकारीले भने । मन्त्री राणा भारतको झारखण्डमा तीर्थयात्रा गर्ने योजना पनि बनाएकी छिन ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट