काठमाडौं । दलित जेनजी एलाइन्स र दलित नागरिक समाजबीच आज सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाली दलित आन्दोलनलाई समयानुकूल, एकताबद्ध र परिणाममुखी बनाउने विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएको छ।
कार्यक्रममा सहभागीहरूले दलित आन्दोलनलाई दिगो र प्रभावकारी बनाउन स्पष्ट वैचारिक आधार निर्माण गर्नुपर्ने, राजनीतिक विभाजनभन्दा माथि उठेर साझा मुद्दामा एकता कायम गर्नुपर्ने तथा संविधानले सुनिश्चित गरेका अधिकारहरूको कार्यान्वयनका लागि सशक्त दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
विशेषगरी “दलित अधिकार दशक” अभियानमार्फत राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई एकीकृत रूपमा सम्बोधन गर्दै सरकारमाथि दीर्घकालीन नीति, पर्याप्त बजेट र समुदायमुखी कार्यक्रम लागू गर्न दबाब दिनुपर्ने निष्कर्ष कार्यक्रममा निकालियो।
साथै, डिजिटल माध्यमलाई रणनीतिक रूपमा प्रयोग गरेर दलित अधिकारका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने, सामाजिक आन्दोलनलाई आर्थिक सशक्तीकरणसँग जोडेर युवालाई सीप, उद्यमशीलता र रोजगारीका अवसरसँग आबद्ध गराउनुपर्ने सुझाव दिइएको थियो।

दलित समुदायमाथि भएका विभेद र सकारात्मक परिवर्तनका घटनाको व्यवस्थित दस्तावेजीकरण र अनुसन्धान सुदृढ बनाउने आवश्यकतामा पनि जोड दिइयो। महिला, आदिवासी, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीजस्ता समुदायसँग सहकार्य विस्तार गर्दै साझा आन्दोलन निर्माण गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
कार्यक्रमले प्रत्येक वडामा कम्तीमा एक दलित जेनजी एक्टिभिष्ट परिचालन गर्नुपर्ने र संगठनको स्थायित्वका लागि दीर्घकालीन रणनीतिक योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने निष्कर्ष पनि प्रस्तुत गर्यो।
सारांशमा, सहभागीहरूले दलित आन्दोलनलाई न्याय, समानता, सम्मान र समावेशी विकासतर्फ उन्मुख गर्न युवा नेतृत्व, साझा अभियान, सशक्त वकालत र समुदाय आधारित संगठित पहल अपरिहार्य रहेको बताए।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा