राहत सामग्रीसहित दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगे

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० (Y-20) ठूला ढुवानी विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।

 

चिनियाँ दूतावासका अनुसार स्थानीय समयअनुसार बिहान करिब ७ बजे ती विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमा राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरण समेत ल्याइएको छ।

 

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र संघीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए। उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरेका छन्।

दूतावासका अनुसार चीनको छेन्दु शुआंगलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ती विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्।

दुवै विमानमा ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ। सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, तयारी खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्रीलगायत छन्।

चीनले नेपालमा पछिल्लो समय देखिएको विपद् तथा विशेषगरी सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा सहयोग पुर्‍याउन उद्धार विशेषज्ञ र उपकरणसहितको टोली पठाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ