काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आज बिहीबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने भएका छन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा उनले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्न लागेका हुन्।
राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री साहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि हुनेछ।
सम्बोधनअघि प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको उच्चस्तरीय छलफल ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन स् सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ भन्ने मूल विषयमा केन्द्रित छ।
महासभामा जलवायु परिवर्तन, विश्वव्यापी द्वन्द्व, कृत्रिम बुद्धिमत्ता र बहुपक्षीय संस्थाको सुधारलगायत विषय प्रमुख रूपमा उठिरहेका छन्। नेपालले भने आफ्नो सम्बोधनमा पछिल्लो समय भोगेको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिको विषयलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।
विशेषगरी भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी, हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम र विपद्बाट प्रभावित समुदायलाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषय प्रधानमन्त्री साहले विश्वमञ्चमा उठाउने तयारी गरिएको छ।
नेपालले न्यून कार्बन उत्सर्जन गर्ने भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई उचित जलवायु क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषयमा जोड दिनेछ। साथै, हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउँदै प्रभावित मुलुकमाथि थप ऋणको भार नथपिने गरी प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने धारणा राख्ने तयारी छ।
यसअघि नै महासचिव गुटेरेसले महासभालाई सम्बोधनका क्रममा नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको जोखिमको प्रसंग उठाइसकेका छन्। उनले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रमा देखिएको जलवायु संकटबारे दिएको चेतावनीसमेत स्मरण गरेका थिए।
प्रधानमन्त्री साह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन्। महासभाका विभिन्न सत्र तथा उच्चस्तरीय छलफलमा सहभागी भएपछि उनी कतार हुँदै असोज १० गते नेपाल फर्कने कार्यक्रम रहेको छ।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
भारतले फेरी पठायो ११ टन राहत सामग्री
नेपाल र भारतका अर्थमन्त्रीबिच बाढीपछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने जयशंकरको प्रतिबद्धता
प्रधानमन्त्री साहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट