फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?

काठमाडौं । यूएईको दुबईबाट इजरायलको तेल अभिभ जादै गरेको फ्लाई दुबईको विमानमा भारतीय क्याप्टेन स्मित मच्छारमाथि चक्कु प्रहार गर्ने सहपाइलटको परिचय खुलेको छ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार क्याप्टेनमाथि आक्रमण गर्ने व्यक्ति हमाम अल–हमामी हुन्। ओमानी नागरिक अल–हमामीको जन्म संयुक्त अरब इमिरेट्स ९यूएई० मा भएको थियो। उनका बुबा ओमानी र आमा सिरियाली हुन्। उनले आफ्नो जीवनको लामो समय यूएईमा बिताएको बताइएको छ।

अल–हमामी यसअघि ओमानको राष्ट्रिय एयरलाइन्समा कार्यरत थिए। तर, सन् २०१४ मा उनलाई पाइलट तालिमबाट हटाइएको र त्यसपछि एयरलाइन्समै अर्को भूमिकामा राखिएको सीएनएनले जनाएको छ। करिब आठ महिनाअघि उनी फ्लाई दुबईमा आबद्ध भएका थिए।

सीएनएनका अनुसार उनी पछिल्लो समय लामो समय सिरियामा बसेका थिए। त्यहाँ रहँदा उनी कट्टरपन्थी विचारबाट प्रभावित भएको अनुसन्धानमा देखिएको बताइएको छ। इजरायली च्यानल १२ ले अनुसन्धानकर्ताहरूले अल–कायदा विचारधारासँग उनको सम्बन्ध वा प्रभाव देखाउने प्रमाण फेला पारेको दाबी गरेको छ।

स्रोतलाई उद्धृत गर्दै सीएनएनले अनुसन्धानका क्रममा अल–हमामीले इजरायलमा विमान दुर्घटना गराउने उद्देश्य रहेको बताएका थिए।

सेप्टेम्बर ३० मा उडानका क्रममा उनले ककपिटमै क्याप्टेन मच्छारमाथि चक्कुले आक्रमण गरेको बताइएको छ। आक्रमणपछि विमान तीव्र गतिमा तल झरेको थियो।

गम्भीर घाइते भए पनि क्याप्टेन मच्छारले आक्रमणकारीसँग प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सफल भएको बताइएको छ। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहपाइलटलाई नियन्त्रणमा लिएका थिए। विमानलाई त्यसपछि साउदी अरबमा आपत्कालीन अवतरण गराइएको थियो।

घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणकारी इस्लामिक कट्टरपन्थी विचारबाट प्रभावित रहेको बताएका थिए। उनले विमानमा रहेका यात्रुसहित विमान दुर्घटनाग्रस्त गराउने उद्देश्यले आक्रमण भएको दाबी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ