भोटेकोशी बाढीलाई साझा विपद्का रूपमा लिन ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी नदीमा आएको बाढीलाई राज्य र नागरिक सबैको साझा विपद्का रूपमा लिएर समाधानमा जुट्न सरकारलाई आग्रह गरेका छन्।

नुवाकोट, रसुवालगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले तयार पारेको अध्ययन प्रतिवेदन ग्रहण गर्दै ओलीले विपद्को समयमा सरकारले सबै तहका सरकार र सरोकारवालासँग सहकार्य गर्नुपर्ने बताएका हुन्।

उनले विपद् व्यवस्थापनमा सरकार एक्लैले सबै कामको श्रेय लिन खोज्दा प्रभावकारी समन्वय हुन नसकेको टिप्पणी गरे। प्रदेश तथा स्थानीय सरकारसँग मिलेर उद्धार र राहतको काम अघि बढाउनुपर्नेमा केन्द्र सरकार त्यसतर्फ पर्याप्त रूपमा अघि बढ्न नसकेको उनको आरोप थियो।

ओलीले विपद्का बेला राज्यको सम्पूर्ण क्षमता परिचालन गर्नुपर्नेमा सरकारको भूमिका प्रभावकारी र सहज पहुँचमा नरहेको दाबी गरे। यस्तो अवस्थामा सरकारको आलोचना गर्नेभन्दा पनि उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

बाढी तथा विपद् व्यवस्थापनमा दक्ष जनशक्तिको सहयोग लिनसमेत सरकारले ध्यान दिनुपर्ने ओलीले बताए। पर्वतारोहण तथा उद्धारमा अनुभवी समूहको सीप र क्षमतालाई समेत उपयोग गर्न सकिने उनले उल्लेख गरे।

विपद् कुनै एक पक्षको प्रयासबाट मात्रै समाधान नहुने भन्दै ओलीले राज्य, प्रदेश, स्थानीय तह र नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। उनले सरकारले अझै पनि आफ्नो भूमिका र कार्यदिशा स्पष्ट पार्दै सबै पक्षलाई समेटेर उद्धार तथा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ