खप्तडमा नेपाली सेनाको मेडिकल ‘भरपर्दो सहारा’

चैनपुर । समुद्री सतहबाट ३ हजार ५ सय मिटरको उचाइमा रहेको खप्तडमा स्वास्थ्य सेवा सहज छैन। भौगोलिक विकटता, चिसो मौसम र लामो पैदलयात्राका कारण त्यहाँ पुग्ने स्थानीय, गोठाला, तीर्थयात्री तथा पर्यटकले सामान्य स्वास्थ्य समस्या पर्दासमेत उपचारका लागि कठिनाइ भोग्नुपर्ने अवस्था छ।

यही चुनौतीबीच नेपाली सेनाले सञ्चालन गरेको मेडिकल स्थानीयदेखि पर्यटकसम्मका लागि महत्वपूर्ण स्वास्थ्य केन्द्र बनेको छ। समरजित गुल्मको व्यवस्थापनमा सञ्चालित उक्त मेडिकलमा दैनिकजसो बिरामी पुग्ने गरेका छन्। यहाँ सामान्य स्वास्थ्य समस्या भएका व्यक्तिलाई निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको छ।

बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य बिरामी पर्दा पनि उपचारका लागि खप्तड जाने गरेको बताउँछिन्। गाउँमै स्वास्थ्यचौकी भए पनि सेनाको मेडिकलमा उपचारप्रति आफूलाई बढी भरोसा रहेको उनको भनाइ छ।

“ठूलो समस्या भएर जाने होइन, सामान्य बिराम पर्दा पनि खप्तड पुग्छु,” थापाले भनिन्, “त्यहाँको औषधिले चाँडै सञ्चो हुन्छ। औषधिसँगै स्वास्थ्यकर्मीले राम्रोसँग सल्लाह पनि दिनुहुन्छ।”

खप्तडछान्नाकै तेजेन्द्र खड्काले पनि सेनाको मेडिकलमा पाइने स्वास्थ्य परामर्शलाई प्रभावकारी मानेका छन्। नजिकै स्वास्थ्यचौकी हुँदाहुँदै पनि सामान्य स्वास्थ्य समस्या हुँदा खप्तड जाने गरेको उनले बताए।

“औषधि उस्तै भए पनि खप्तडमा स्वास्थ्यकर्मीले दिने परामर्श राम्रो लाग्छ,” खड्काले भने, “त्यसैले घरपरिवारमा कसैलाई सामान्य बिराम भयो भने पनि उपचारका लागि खप्तड लैजाने गरेका छौँ।”

वर्षायाममा छान्नाका विभिन्न गाउँबाट समेत मानिसहरू उपचारका लागि खप्तड पुग्ने गरेको उनको भनाइ छ।

पर्यटकलाई पनि तत्काल उपचारको सुविधा :

खप्तड धार्मिक तथा प्राकृतिक पर्यटनका लागि चर्चित गन्तव्य हो। वर्षभरि पर्यटक तथा तीर्थयात्री पुग्ने भए पनि गर्मीयाममा यहाँको चहलपहल अझ बढ्ने गर्छ।

उचाइका कारण हुने समस्या, चिसो मौसम तथा लामो दूरी हिँड्दा पर्यटकमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने तथा शरीर कमजोर हुनेजस्ता समस्या लिएर पर्यटक मेडिकल पुग्ने गरेको सेनाले जनाएको छ।

खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकाया खप्तड पुग्दा स्वास्थ्य समस्या परे सेनाको मेडिकल नै पहिलो विकल्प हुने बताउँछन्।

“उपचारको कुरा मात्र होइन, खप्तडमा दुःखसुख पर्दा नेपाली सेना नजिकको साथी जस्तो लाग्छ,” रोकायाले भने, “पर्यटकलाई चोटपटक लागेमा वा स्वास्थ्य समस्या आएमा सेनाको मेडिकल ठूलो सहारा बनेको छ।”

खप्तडजस्तो उच्च हिमाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा उपलब्ध हुनु स्थानीय र पर्यटक दुवैका लागि महत्वपूर्ण राहत भएको समरजित गुल्मका गुल्मपति विजय खत्रीले बताए।

उनका अनुसार लेकमा स्वास्थ्य समस्या देखिएपछि तत्काल तल्लो क्षेत्रमा झर्न पनि सहज हुँदैन। मौसम खराब हुँदा र भौगोलिक कठिनाइका कारण उद्धार वा फर्कने अवस्था नहुँदा मेडिकलबाटै प्राथमिक उपचार र आवश्यक परामर्श उपलब्ध गराउने गरिएको छ।

धार्मिक मेलामा हजारौँलाई स्वास्थ्य सेवा :

खप्तडमा आयोजना हुने ठूला धार्मिक मेलालाई लक्षित गरेर पनि नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। गङ्गादशहरा मेला, उकालु पूर्णिमामा हुने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलाका अवसरमा यस्ता शिविर सञ्चालन हुने गरेका छन्।

यी अवसरमा विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक खप्तड पुग्ने भएकाले आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिँदै आएको सेनाले जनाएको छ। मेलामा सञ्चालन हुने स्वास्थ्य शिविरबाट मात्रै हरेक वर्ष हजारौँले सेवा लिने गरेका छन्।

शुक्रबार सम्पन्न पूर्णिमा मेलाका क्रममा मात्रै करिब १ सय ५० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए। प्रतिकूल मौसमका कारण यसपटक अपेक्षाभन्दा कम श्रद्धालु आएको सेनानी खत्रीले बताए।

“मौसम राम्रो भएको भए श्रद्धालुको सङ्ख्या अझ धेरै हुन्थ्यो। उपचारका लागि आउनेको चाप पनि बढ्थ्यो,” उनले भने।

मेलाका बेला टाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल उपचार उपलब्ध गराउन स्वास्थ्य शिविर प्रभावकारी हुँदै आएको उनको भनाइ छ।

तर सेनाको स्वास्थ्य सेवा मेला वा विशेष अवसरमा मात्र सीमित छैन। समरजित गुल्मका अनुसार खप्तडमा नियमित रूपमा पनि दैनिकजसो बाहिरबाट आउने एक दर्जनभन्दा बढी बिरामीलाई उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरिँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ