बर्दिया । बिहानदेखि साँझसम्म सीता चौधरीको दिनचर्या प्रायः एउटै हुन्छ—घरको काम, श्रीमान्को हेरचाह र परिवारका दैनिक आवश्यकता पूरा गर्ने प्रयास। बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीताको जीवनमा यो दिनचर्या आजको होइन। श्रीमान् वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि करिब दुई दशकदेखि उनको ठूलो समय हेरचाहमै बितिरहेको छ।
श्रीमान्को दुर्घटनाले सीताको परिवारमा एउटा सदस्यको स्वास्थ्य मात्रै खोसेन, परिवारको आर्थिक आधार पनि कमजोर बनायो। नियमित काममा जाने वा बाहिर गएर रोजगारी गर्ने अवस्था उनका लागि सहज रहेन। श्रीमान्को हेरचाह छाडेर लामो समय घरबाहिर बस्न नसक्ने भएकाले आम्दानीको बाटो साँघुरिँदै गयो।
सीताको कथा एक्लो भने होइन।
सोही क्षेत्रका देवीराम थारूको जीवन पनि लामो समयदेखि आमाको हेरचाहमै केन्द्रित छ। उच्च रक्तचापलगायत स्वास्थ्य समस्याका कारण आमा पूर्ण अपाङ्गता भएपछि देवीरामले पनि रोजगारीका लागि घरबाहिर जाने अवसर गुमाए। परिवारको जिम्मेवारी पूरा गर्नु उनको प्राथमिकता बन्यो, तर त्यससँगै आम्दानीको सम्भावना भने सीमित हुँदै गयो।
घरमै बसेर आम्दानीको
यस्तै जीवन बिताइरहेका सीता र देवीरामका लागि अहिले नयाँ सम्भावनाको ढोका खुलेको छ। घर छाडेर बाहिर जान नसक्ने अवस्थाबीच उनीहरूले घरमै बसेर गर्न सकिने सीप सिक्ने अवसर पाएका छन्।
बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम दिन थालेपछि उनीहरूको दैनिकीमा नयाँ आशा थपिएको हो। झन्डै एक महिना सञ्चालन हुने तालिममा सहभागीहरूले मुडा, पूजा टोकरी, ह्याङ्गरलगायत सामग्री बनाउन सिकिरहेका छन्।
सीताका लागि यो केवल एउटा सीप सिक्ने अवसर होइन, आफ्नै परिस्थितिभित्र आम्दानीको बाटो खोज्ने प्रयास पनि हो। घरको जिम्मेवारी पूरा गर्दै बाँकी समयलाई उत्पादनशील बनाउन सकिने विश्वास उनमा बढेको छ।
“सीप सिकेपछि घरमै बसेर केही आम्दानी गर्न सकिन्छ भन्ने आशा जागेको छ,” सीता भन्छिन्।
देवीरामका लागि पनि सीपले लामो समयदेखि रोकिएको आर्थिक गतिविधिको सम्भावना फेरि देखाएको छ।
“आमाको हेरचाह गर्नुपर्ने भएकाले बाहिर गएर काम गर्न सक्ने अवस्था थिएन,” उनी भन्छन्, “अहिले घरमै बसेर विभिन्न सामग्री बनाउन सक्ने भएको छु।”
२० परिवारमा सीप, आत्मनिर्भरताको आशा
सीता र देवीराम प्रतिनिधि पात्र मात्रै हुन्। गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार अहिले यही तालिमबाट लाभान्वित भइरहेका छन्।
तालिमपछि सहभागीहरूले बेतबाँसबाट विभिन्न सामग्री बनाउन थालेका छन्। घरमै उपलब्ध समय उपयोग गरेर उत्पादन गर्न सकिने भएकाले हेरचाहको जिम्मेवारीसँगै आयआर्जन अघि बढाउन सकिने अपेक्षा गरिएको छ।
आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले कार्यक्रम सञ्चालन गरेको हो। केन्द्रका अनुसार तालिमको उद्देश्य सीप सिकाएर मात्र रोक्नु नभई त्यसलाई उत्पादन, आयआर्जन र बजारसँग जोड्नु हो।
‘अपाङ्गता आर्थिक बोझ होइन’
बर्दियामा करिब १७ हजार अपाङ्गता भएका व्यक्ति रहेको केन्द्रको तथ्यांक छ। तीमध्ये करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति परिवारको प्रत्यक्ष सहारामा जीवन बिताइरहेका छन्।
यस्ता परिवारमा हेरचाहको जिम्मेवारीका कारण अन्य सदस्यको रोजगारी र आयआर्जनसमेत प्रभावित हुने गरेको अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटा बताउँछन्।
उनका अनुसार अपाङ्गता भएका व्यक्तिलाई परिवारका लागि आर्थिक भारका रूपमा मात्र बुझ्ने दृष्टिकोण परिवर्तन आवश्यक छ। उचित सीप, अवसर र सहयोग पाए उनीहरूले आफ्नो क्षमताअनुसार उत्पादनमूलक काम गर्न सक्ने उनको भनाइ छ।
“सीप र अवसर पाए अपाङ्गता भएका व्यक्तिहरू पनि आत्मनिर्भर बन्न सक्छन्,” सापकोटा भन्छन्, “त्यसैलाई ध्यानमा राखेर बेतबाँसका सामग्री निर्माणको तालिम सञ्चालन गरेका हौँ।”
बजारको चुनौती
सीप सिकेपछि उत्पादन गर्नु एउटा चरण हो, त्यसलाई बजारसम्म पुर्याउनु अर्को चुनौती। यही पक्षलाई ध्यानमा राखेर उत्पादित सामग्री बिक्री नभएको अवस्थामा संस्थाले बजारीकरणमा सहयोग गर्ने जनाएको छ।
बेतबाँसबाट बनेका सामग्रीको बजारमा माग रहेको भन्दै केन्द्रले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजना बनाएको छ। कच्चा पदार्थका रूपमा आवश्यक बेतबाँस स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहलसमेत भइरहेको छ।
यसले कार्यक्रमलाई दुई कोणबाट उपयोगी बनाउने अपेक्षा गरिएको छ—स्थानीय स्रोतको प्रयोग र घरमै रोजगारीको सम्भावना। बेतबाँसबाट बन्ने सामग्री वातावरणमैत्री हुने भएकाले यसको उत्पादनले आर्थिकसँगै वातावरणीय पक्षलाई पनि जोड्ने केन्द्रको बुझाइ छ।
हेरचाहसँगै आत्मनिर्भर बन्ने प्रयास
पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्ने परिवारका सदस्यका लागि बाहिर गएर रोजगारी गर्नु सधैँ सम्भव हुँदैन। औषधोपचार, हेरचाह र दैनिक आवश्यकताले खर्च बढाउँदै लैजाँदा त्यस्ता परिवारको आर्थिक अवस्था थप कठिन बन्न सक्छ।
त्यसैले सीता र देवीरामका लागि बेतबाँसको सीप एउटा सामान्य तालिमभन्दा बढी अर्थ राख्छ। उनीहरूका लागि यो घर छाड्न नसक्ने परिस्थितिभित्रै आम्दानीको सम्भावना खोज्ने माध्यम बनेको छ।
हेरचाहको जिम्मेवारीबाट उनीहरू तत्काल मुक्त हुने अवस्था छैन। तर त्यही जिम्मेवारीबीच केही उत्पादन गर्न, सीपलाई आम्दानीमा बदल्न र परिवारको आर्थिक बोझमा आफ्नो हिस्साको योगदान थप्न सकिने सम्भावना भने खुलेको छ।
सीपले उनीहरूको जीवन एकैपटक बदलिदिने होइन। तर लामो समयदेखि घरको चार भित्ताभित्र सीमित भएको श्रम र समयलाई उत्पादनसँग जोड्ने सुरुवात भने हुन सक्छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
खाडीबाट फर्किएर गाईभैँसी पालेका तोपबहादुर दूध बेचेरै मासिक एक लाख बचत गर्छन्