खाडीबाट फर्किएर गाईभैँसी पालेका तोपबहादुर दूध बेचेरै मासिक एक लाख बचत गर्छन्

म्याग्दी । वैदेशिक रोजगारीमा बिताएका वर्षहरूले तोपबहादुर क्षेत्रीलाई एउटा कुरा सिकायो-आफ्नै ठाउँमा केही गर्न सकियो भने परदेश नै धाउनुपर्दैन। त्यसैले साउदी अरबमा १३ वर्ष सवारी चालकका रूपमा काम गरेपछि स्वदेश फर्किएका उनले गाउँमै पशुपालन सुरु गर्ने निर्णय गरे।

पर्वतको जलजला गाउँपालिका–८ लस्तीका क्षेत्रीले सुरुमा तीनवटा गाईभैँसीबाट व्यवसाय थालेका थिए। अहिले उनको ‘गोमा गाईभैँसी फार्म’ मा १४ वटा गाईभैँसी छन्। फार्मबाट दैनिक करिब ९० लिटर दूध बिक्री हुन्छ। दूध बिक्रीबाट दैनिक करिब रु दुई हजार ७०० आम्दानी हुने र पशुको दाना, औषधि तथा व्यवस्थापन खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी बचत हुने क्षेत्री बताउँछन्।

साउदी अरबमा बिरामी परेपछि स्वदेश फर्किएका उनले तत्काल अर्को रोजगारीको विकल्प भेटेनन्। त्यसपछि आफूले जानेको र गाउँमै गर्न सकिने कामका रूपमा पशुपालन रोजे। सुरुआतमा व्यवसाय चल्छ कि चल्दैन भन्ने अन्योल भए पनि निरन्तर मिहिनेत गर्दै जाँदा अहिले यही व्यवसाय उनको मुख्य आम्दानीको आधार बनेको छ।

‘पहिले व्यक्तिगत खर्च र घर चलाउन अरूकै भर पर्नुपथ्र्यो,’ क्षेत्रीले भने, ‘अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउन र केही बचत गर्न सकेको छु। मिहिनेतअनुसार आम्दानी हुने भएकाले व्यवसायप्रति सन्तुष्ट छु।’

दूध बिक्रीमा मात्र सीमित नरहेका क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरेर बजारमा पठाउने गरेका छन्। पशुपालनबाट भएको आम्दानीले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋण तिर्नसमेत सहयोग पुगेको उनले बताए। फार्म विस्तारका क्रममा करिब ६० लाख रुपैयाँसम्म ऋण पुगे पनि नियमित आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ।

तीन पशुबाट सुरु भएको व्यवसाय

तोपबहादुरसँगै उनकी श्रीमती गोमा पनि फार्ममै काम गर्छिन्। व्यवसायले उनीहरू दुवैलाई स्वरोजगार बनाएको छ भने एक जनालाई नियमित रोजगारीसमेत दिएको छ।

तर व्यवसायको यात्रा सधैँ सहज थिएन। कोरोना महामारीका बेला बजारमा दूध पुर्‍याउन नसक्दा उत्पादन खेर गएको र आर्थिक क्षति व्यहोर्नुपरेको क्षेत्री सम्झन्छन्। सुरुआती चरणमा पशुपालनको प्राविधिक ज्ञान र व्यवस्थित व्यावसायिक योजना नहुँदा पनि उनले अनेक समस्या झेले।

पछि गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालित वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट तालिम, प्राविधिक ज्ञान र अनुदान पाएपछि फार्म व्यवस्थापनमा सुधार आएको उनले बताए।

‘पहिला धेरैले यो व्यवसाय टिक्दैन भन्थे। आफूलाई पनि पशुपालनबारे धेरै ज्ञान थिएन,’ उनले भने, ‘तालिम लिएपछि अभिलेख राख्ने, खर्च–आम्दानी हिसाब गर्ने र बजार बुझ्ने तरिका सिकियो। त्यसपछि व्यवसायप्रतिको विश्वास बढ्दै गयो।’

गाउँको दूध बागलुङसम्म

क्षेत्रीको मात्र होइन, लस्ती र आसपासका किसानका लागि पनि दूध बिक्रीको बजार विस्तार भएको छ। फर्से र लस्ती क्षेत्रका किसानले उत्पादन गरेको दूध स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरेर बागलुङसम्म पुर्‍याउने व्यवस्था गरेको छ।

सहकारीका सचिव खड्ग केसीका अनुसार करिब ४० किसानबाट दैनिक ६ सयदेखि ८ सय लिटरसम्म दूध सङ्कलन गरी बागलुङमा बिक्री हुँदै आएको छ। किसानलाई उत्पादनको बजार सुनिश्चित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण बनेको छ।

जलजला गाउँपालिकाबाट प्राविधिक सहयोग पाउँदै आएका किसानलाई प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारीमार्फत प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।

लक्ष्य ३० वटा पशु 

तीनवटा गाईभैँसीबाट सुरु गरेको व्यवसायलाई क्षेत्री अब ३० वटा पशुसम्म विस्तार गर्ने योजनामा छन्। पशुको सङ्ख्या बढाएर दूध उत्पादन वृद्धि गर्ने मात्र होइन, पनिर, घिउलगायत दूधजन्य परिकारको उत्पादन र बजार विस्तार गर्ने उनको लक्ष्य छ।

तर व्यवसाय विस्तारमा दक्ष कामदारको अभाव चुनौती बनेको छ। गाईभैँसीको नियमित हेरचाह, दानापानी, सरसफाइ र स्वास्थ्य परीक्षणमा निरन्तर ध्यान दिनुपर्ने भएकाले अनुभवी कामदार पाउन कठिन हुने क्षेत्री बताउँछन्।

विदेशमा बिताएका १३ वर्षपछि गाउँ फर्किएका क्षेत्रीका लागि गाईभैँसी पालन अहिले केवल वैदेशिक रोजगारीको विकल्पमा सीमित छैन। तीनवटा पशुबाट सुरु भएको व्यवसायले परिवारको नियमित आम्दानीको आधार तयार गरेको छ। आफ्नै गाउँमा गरेको श्रम र लगानीबाट परिवारको आर्थिक अवस्था सुधारिँदै गएपछि क्षेत्रीलाई अहिले स्वदेशमै व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ