‘सुकुमबासीलाई होल्डिङ सेन्टर छाड्न निर्देशन’

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासी परिवारलाई दुई दिनभित्र ठाउँ खाली गर्न निर्देशन दिएको छ।

प्रशासनले बुधबार सूचना जारी गर्दै कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर मंसिर ११ गते दिउँसो २ बजेसम्म खाली गर्न भनेको हो। भूमि समस्या समाधान समितिको पत्रका आधारमा यस्तो निर्देशन दिइएको प्रशासनले जनाएको छ।

काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका सुकुमबासी परिवारलाई अस्थायी रूपमा उक्त होल्डिङ सेन्टरमा राखिएको थियो।

प्रशासनका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएको छ। त्यसैले उनीहरू भूमिहीनको सूचीमा नपर्ने भएका छन्।

त्यस्तै, जग्गा नभएका १२ परिवारका हकमा सम्बन्धित स्थानीय तहमा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको र त्यसको निस्सासमेत प्राप्त भइसकेको सूचनामा उल्लेख छ।

प्रशासनले जग्गा नभएका परिवारलाई आफ्नो निस्सा बुझ्न र सरकारले घरभाडाबापत उपलब्ध गराउने सुविधा लिनसमेत आग्रह गरेको छ।

फोटो : एआई निर्मित

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ