डडेल्धुरा । विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन्। गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन्।
यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन्। तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ। अमरगढी नगरपालिका-६ छचोडाका लक्ष्मी टमाटाको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँस्वरूप र शैलीमा फरक किसिमको बनाउने गरिन्थ्यो। आजभोलि कारोबार सुनसान बनेको उनले बताए।
आफूलाई धातुका र तामाका आकर्षक भाँडाकुँडा बनाउने सीप भए पनि यसले बजार नपाउँदा नासिने अवस्थामा पुगेको टमाटाको गुनासो छ। बजारमा नयाँ तथा आर्कषक भाँडाले कब्जा जमाएसँगै तामा र फलामबाट बनेका भाँडाकुँडाले बजार पाउन नसकेको उनले उल्लेख गरे।
‘यो क्षेत्रमा अधिकांशले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्थे। यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय लोप हुँदै गएको छ,’ टमाटाले भने। आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामग्रीको उपयोग कम हुँदै जानुलगायत कारणले गर्दा विस्थापित हुन पुगेको उनको भनाइ छ।
स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानालगायत वस्तु अहिले लोप हुँदै गएको पुराना आरन व्यवसायी तेजबहादुर ताम्राकारले बताए।
डडेल्धुराको अमरगढी नगरपालिकाका छचोडा, कोटेली, पोखरा आलितालको डोला, गाङखेत, हर्तकालगायत २५ भन्दा बढी ठाउँका आरन व्यवसायीले यही पेशाबाट दैनिकी चलाउने गरेको बताएका छन्। पछिल्लो समय कारोबार घट्दै गएपछि व्यवसाय हराउने जोखिम बढ्नुका साथै विदेश जाने युवाको संख्या पनि बढ्दै गएको ताम्राकारले बताए।
घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन सरोकार भएका निकाय र स्थानीय सरकारबाट पहल नभएको उनको गुनासो छ। जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने सम्भावना भए पनि कुनै निकायले संरक्षणका लागि पहल नगर्नु चिन्ताको विषय भएको आरन व्यवसायीको भनाइ छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता