जम्बो कमिटीले कम्युनिस्ट आन्दोलन बलियो हुँदैन : पम्फा भुसाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीका विभिन्न तहमा गठन गरिएका ठूला आकारका कमिटीले संगठनलाई बलियो बनाउनेभन्दा झन् कमजोर बनाउने खतरा रहेको बताएकी छन्।

नेपाली कम्युनिस्ट पार्टी कोसी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले पार्टी संरचनालाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

उनका अनुसार विभिन्न पार्टीबीचको एकतापछि ठूलो आकारको केन्द्रीय समिति बने पनि त्यसले अपेक्षित निर्वाचन परिणाम दिन सकेको छैन। पार्टीका कमिटीमा सदस्य संख्या थपिँदै जाँदा नेताहरूबीच प्रभावकारी संवाद र समन्वयमा समेत समस्या देखिन थालेको उनले बताइन्।

भुसालले आगामी मंसिरमा हुने महाधिवेशनबाट संगठनात्मक कमजोरी सुधार गर्दै सानो, चुस्त र प्रभावकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने धारणा राखिन्। पार्टीका केन्द्रीयदेखि स्थानीय तहसम्मका कमिटीलाई अनावश्यक रूपमा ठूलो बनाउने प्रवृत्तिले कम्युनिस्ट पार्टीको मौलिक संगठनात्मक चरित्रमै असर परेको उनको भनाइ थियो।

उनले पछिल्लो समय पार्टीका नेताहरूमा पदप्रतिको आकर्षण बढ्दै गएको भन्दै त्यसले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाइरहेको टिप्पणी गरिन्। पद प्राप्त गर्ने प्रतिस्पर्धा र पदप्रतिको मोहकै कारण आन्दोलन विघटनतर्फ जाने जोखिम बढेको उनले बताइन्।

महाधिवेशनका लागि आवश्यक संगठनात्मक एकता तल्लो तहसम्म पुर्‍याउने, पार्टी सदस्यता नवीकरण गर्ने तथा संगठनलाई व्यवस्थित गर्ने काममा समेत ढिलाइ भइरहेको भुसालले उल्लेख गरिन्।

उनले पार्टी एकताको अहिलेको चरणलाई संक्रमणकालीन अवस्थाका रूपमा व्याख्या गर्दै ठूलो संख्याको केन्द्रीय समिति र विभिन्न पद सिर्जना हुनु दीर्घकालीन रूपमा स्वीकार्य नहुने संकेत गरिन्। आगामी महाधिवेशनमार्फत पार्टीलाई व्यवस्थित र प्रभावकारी संगठनका रूपमा पुनर्संरचना गर्ने मुख्य जिम्मेवारी रहेको उनको भनाइ थियो।

भुसालले मुलुक अहिले गम्भीर संकटको अवस्थामा रहेको पनि बताइन्। राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै कमजोर अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याइन्।

वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्दै कम्युनिस्ट एकताको अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ