माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारमध्ये थप ११ जनाको शव फेला परेको छ।

खोजीका क्रममा आयोजनाको अडिट–३ सुरुङभित्र जालीमा अड्किएको तथा हिलोमा पुरिएको अवस्थामा शवहरू भेटिएका हुन्। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।

शनिबार फेला परेका ११ शवसहित माथिल्लो त्रिशूली–१ आयोजनाबाट हालसम्म २४ शव निकालिएको उद्धारसम्बन्धी अपडेटमा उल्लेख छ। सोही आयोजनाबाट यसअघि एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। त्यसयता भने थप जीवित उद्धार हुन सकेको छैन।

नेपाली सेना, सशस्त्र प्रहरी बल तथा प्राविधिक जनशक्ति सम्मिलित टोलीले सुरुङभित्र खोजी तथा उद्धार कार्य जारी राखेको छ।

बाढीपछि आयोजनास्थलबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका थिए। अन्य बेपत्ता व्यक्तिको खोजी पनि निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ