माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ।

नेपाली सेनाका अनुसार आयोजनाको अडिट–३ सुरुङभित्र उद्धार टोलीले खोजी गर्दा ढलानका लागि बनाइएको फलामे डन्डीको जालीमा अड्किएको अवस्थामा शवहरू फेला परेका हुन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शवहरू बाहिर निकालेको सेनाले जनाएको छ। सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि त्यस क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

भदौ १० गते आएको बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ठूलो संख्याका व्यक्ति सम्पर्कविहीन भएका थिए। बिहीबारसम्मको विवरणअनुसार आयोजनाका ४९२ जना अझै सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आएका छन्।

आयोजनामा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेको बताइएको छ। कोरियाली लगानीमा निर्माण भइरहेको यो आयोजना बाढीबाट प्रभावित प्रमुख जलविद्युत् आयोजनामध्ये एक हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ