आज देशभर कांग्रेसको पालिका अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको स्थानीय सांगठनिक संरचना निर्माण तथा नयाँ नेतृत्व चयनका लागि पालिका अधिवेशन आयोजना गरिएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश वडामा नेतृत्व चयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ। तर बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको रसुवामा भने विशेष परिस्थितिलाई मध्यनजर गर्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार नयाँ विधान र निर्वाचन निर्देशिकाबमोजिम पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्।

व्यवस्थाअनुसार एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुनेछन्। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ