प्रधानमन्त्रीको सम्बोधनबारे प्रदीप परियारको टिप्पणी : ‘देश नेतृत्वले मात्र फेरिँदैन’

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय सत्रमा प्रधानमन्त्री बालेन्द्र साहको सहभागिता र सम्बोधनबारे ‘दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स’ का प्रमुख प्रदीप परियारले प्रतिक्रिया जनाएका छन्।

महासभामा सहभागी हुन न्युयोर्क पुगेका परियारले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको सहभागिता, सम्बोधनको शैली र नेपाली प्रतिनिधिमण्डलको गतिविधिबारे आफ्ना धारणा सार्वजनिक गरेका हुन्। उनले मुख्यतः तीन विषयलाई उठाएका छन्।

परियारले महासभामा प्रधानमन्त्रीको सहभागितालाई कूटनीतिक दृष्टिले उचित निर्णयका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र प्रधानमन्त्रीको सहभागिता सकारात्मक पक्ष हो।

प्रधानमन्त्रीको सम्बोधन समयसान्दर्भिक, स्पष्ट र वजनदार रहेको भए पनि त्यसको प्रस्तुति अझ प्रभावकारी बनाउन पर्याप्त तयारी र मेहनत आवश्यक रहेको उनले बताएका छन्।

यस्तै, प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला हलभित्र देखिएको गतिविधिप्रति पनि परियारले प्रश्न उठाएका छन्। सम्बोधनका क्रममा हुटिङ गर्ने तथा आफ्नै टोलीका सदस्यले भाषण चलिरहँदा हात हल्लाउँदै भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने जस्ता गतिविधिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति कमजोर देखाएको उनको टिप्पणी छ।

उनले सार्वजनिक मञ्चमा देखाइने अनुशासन र जिम्मेवारीबोध नेतृत्वमा मात्र नभई नेतृत्वको टोली र आम नागरिकमा समेत आवश्यक रहेको बताएका छन्।

‘देश नेतृत्वले मात्र फेरिँदैन’ भन्ने धारणा राख्दै परियारले नेतृत्व परिवर्तनसँगै सार्वजनिक व्यवहार, अनुशासन र जिम्मेवारीबोधमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार समाज बदलिने यात्रा अझै लामो छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ