भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको खोजी, सात दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको खोजी तथा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन थालेको छ ।

प्रशासनले रसुवा र नुवाकोटमा स्थायी घर भई काठमाडौंमा अध्ययनरत त्यस्ता बालबालिकाको व्यक्तिगत विवरण तयार गरी सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित विद्यालय तथा संघसंस्थालाई निर्देशन दिएको छ ।

बाढी आउनुअघि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका रसुवा र नुवाकोटका विद्यार्थीमध्ये अभिभावक गुमाएका वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको विवरण संकलन गरिने प्रशासनले जनाएको छ । उनीहरू विद्यालयको छात्रावासमा बसेका वा बाहिर बसेर अध्ययन गरिरहेका दुवै हुन सक्ने जनाइएको छ ।

त्यसैगरी, बाढीपछि प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका र अभिभावकविहीन अवस्थामा रहेका बालबालिकाको विवरण पनि संकलन गरिने भएको छ । उनीहरूलाई छात्रावास, गुम्बा, अनाथालय, बालगृह वा अस्थायी आवासमा राखिएको भए अनिवार्य रूपमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

विद्यालय र बालगृहलाई विवरण बुझाउन निर्देशन

काठमाडौंका सरकारी तथा निजी विद्यालय, आवासीय विद्यालय, गुम्बा, अनाथालय, बालगृह, अस्थायी आवास तथा बालबालिकालाई आश्रय दिइरहेका सामाजिक संस्थालाई प्रशासनले विवरण उपलब्ध गराउन भनेको छ ।

प्रशासनले बालबालिकाको संरक्षणका नाममा कानुनी प्रक्रिया पूरा नगरी आफूखुसी राख्नसमेत सचेत गराएको छ । सम्बन्धित सरकारी निकायलाई जानकारी नदिई बालबालिकालाई लुकाउने, प्रभावमा पार्ने वा प्रलोभनमा पार्ने कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा सात दिनभित्र विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउन भनिएको छ ।

बाढीपछि परिवारबाट छुट्टिएका, अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता रहेका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूको सुरक्षा, संरक्षण र परिवारसँग पुनर्मिलनको प्रक्रिया व्यवस्थित गर्न विवरण संकलनलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ