दशैंमा रित्तिँदै घर, परदेशिँदै युवा

काठमाडौं । बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाको बाक्लो भीड देखिएको छ। घरपरिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै रोजगारीको बाध्यताले धेरै युवा दशैंकै बेला परदेशिन लागेका छन्।

दशैंको तेस्रो दिन मंगलबार पनि विमानस्थलमा विदेश जाने युवाको चहलपहल उस्तै देखियो। कोही परिवार र आफन्तसँग बिदाइ हुँदै थिए भने कोही विदेश यात्राको तयारीमा व्यस्त थिए।

दशैंमा घरपरिवारसँगै बसेर टीका लगाउने, आशीर्वाद लिने र खुसी साटासाट गर्ने चाहना भए पनि रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले उनीहरूलाई चाडपर्वकै बेला घर छाड्नुपरेको छ। यसले विमानस्थल परिसरमा भावुक दृश्य सिर्जना गरेको छ।

एकातिर देशभर दशैंको उल्लास छाइरहँदा अर्कोतिर परिवारको खुसी र आफ्नो भविष्यका लागि परदेशिनुपर्ने युवाको बाध्यता विमानस्थलमा देखिन्छ। चाडपर्वको मुखमा आफन्तसँग छुट्टिनुपर्दाको पीडा र रोजगारीको खोजीमा विदेशिनुपर्ने विवशताले विमानस्थलको माहोल भावुक बनेको छ।

तस्बिर काठमाडौंप्रेसबाट

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ