बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ।

काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवामा बाढीका कारण मुख्य सडकहरू पनि अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा समेत बाढीपहिरोले यातायात प्रभावित भएको छ। मनाङको बेँसीसहरदेखि खाङ्सारसम्मको सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि ठप्प भएको छ।

नवलपरासी पूर्वमा पर्ने कालीगण्डकी करिडोरको बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

यस्तै, कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर र सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ।

बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ