काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। शुक्रबार ८.७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम शनिबार बिहान ८.३ डिग्रीमा झरेको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार शनिबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस देखिएको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे मापन हुनेछ। त्यसबेलासम्म तापक्रम केही घट्न सक्ने भए पनि प्रारम्भिक मापनकै तापक्रम कायम रहन सक्ने मौसमविद् महर्जनले बताइन्।
यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो। पछिल्ला दिनमा तापक्रम घट्दै जाँदा उपत्यकासहित देशभर चिसो बढिरहेको छ।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाकिँदा बिहानको न्यूनतम तापक्रम बढ्छ भने आकाश खुला रहँदा तापक्रम घट्छ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको तापक्रमको अवस्था देखाउँछ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा तथा देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोसी प्रदेशको तराई र मधेस प्रदेशमा पनि आंशिक बदली हुने अनुमान छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
राति कोसी प्रदेशको तराई, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। आइतबार बिहान पनि तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
यो पूर्वानुमान शुक्रबार साँझ जारी गरिएको मौसम बुलेटिनमा आधारित हो। महाशाखाले शनिबार बिहान ८ बजे नयाँ मौसम बुलेटिन सार्वजनिक गर्नेछ।









सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
वामपन्थी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड
प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि
कविता : नियतिको निर्मम रेखा
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौंमा चिसो बढ्दै, न्यूनतम तापक्रम ८.३ डिग्रीमा झर्यो