आजदेखि एनपिएलको तेस्रो संस्करण, विजेताले १ करोड ५० लाख पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) ले लगातार तेस्रो वर्ष आयोजना गर्न लागेको प्रतियोगितामा यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यता, डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि र चर्चित विदेशी खेलाडीको सहभागिता मुख्य आकर्षण रहनेछन्।

क्यानका अनुसार यस संस्करणदेखि पहिलोपटक एनपिएलमा डिआरएस प्रविधि प्रयोग गरिनेछ। यसले खेलका निर्णयलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने क्यानका सचिव पारस खड्काले बताए।

नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट काठमाडौं गोर्खाज् र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स सहभागी हुनेछन्।

यसपटक पाकिस्तानका साहिबजादा फरहान र इफ्तिखार अहमद, दक्षिण अफ्रिकाका डेविड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका जिमी निसम, इंग्ल्यान्डका मोइन अलीलगायत चर्चित विदेशी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज, बंगलादेशका सकिब अल हसन र सामिम हुसेन तथा वेस्ट इन्डिजका सेरफेन रदरफोर्ड र फेबियन एलेन पनि विभिन्न टोलीमा आबद्ध छन्।

प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ। यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउनेछ। अघिल्लो संस्करणको विजेताले एक करोड १० लाख रुपैयाँ पाएको थियो। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा यी टोलीले क्रमशः ५१ लाख, २५ लाख र १५ लाख रुपैयाँ पाएका थिए।

प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कारसमेत पाउनेछन्। बढेको पुरस्कार राशि, विदेशी खेलाडीको सहभागिता र नयाँ प्रविधिका कारण एनपिएलको तेस्रो संस्करणलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ