सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि उचालेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १२.२ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमका ओपनर जर्ज मुन्सीले ५४ बलमा १२५ रनको विस्फोटक शतकीय इनिङ्स खेले। विनोद भण्डारी ३० रनमा अविजित रहे।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमसामु पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका दिलीप नाथले सर्वाधिक ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाए। अली शेखले १२ बलमा २४ रन जोडे।

लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक उपाधि जित्न सफल भएको हो। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै सुदूरपश्चिम उपविजेतामा सीमित भएको थियो।

यस सिजन लिग चरण र क्वालिफायर–१ मा लुम्बिनीसँग पराजित भए पनि फाइनलमा सुदूरपश्चिमले शानदार जित निकाल्दै बदला लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ