बाजुरामा ट्याक्टर दुर्घटनामा परी दुईजनाको मृत्यु

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार साँझ भएको दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

दुर्घटनामा ट्याक्टर चालकसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का अन्दाजी २१ वर्षीय चालक नवीन बोहरा, बाजुराको जगन्नाथ–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, २२ वर्षीया संगीता शाही, ४५ वर्षीया सिद्धा ओड र ५२ वर्षीया रामसरादेवी सिंह छन्। उनीहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

दुर्घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ