साइकलको पाङ्ग्रासँगै घुमिरहेको श्रीरामको जीवन

काठमाडौं । बिहान ६ बजेतिर ५० वर्षीय श्रीराम साइकल लिएर ग्वार्कोस्थित आफ्नो डेराबाट निस्किन्छन्। साइकलमा जुत्ता–चप्पल सिलाउने सामान र आवश्यक औजार बोकेर उनी दिनभरि काठमाडौंका सडक चहार्छन्।

कुन ठाउँमा ग्राहक भेटिन्छ भन्ने निश्चित हुँदैन। त्यसैले उनको कामको ठेगाना पनि निश्चित छैन। सडकमा हिँड्दै गर्दा कसैले फाटेको जुत्ता वा चप्पल सिलाउन बोलाए रोकिन्छन्। कुकुरका सामान बनाउने तथा ग्याससम्बन्धी साना काम पनि गर्छन्।

“साइकलमा दिनभरि डुल्नुपर्छ। एक ठाउँमा बसेर कहाँ काम पाइन्छ र ? जहाँ काम भेटिन्छ, त्यहीँ गर्ने हो,” श्रीराम भन्छन्।
बिहान घरबाट निस्किएका उनी साँझ करिब ७ बजे मात्र कोठा फर्किन्छन्। दिनभरि काम गर्दा पाँच–छ सय रुपैयाँसम्म कमाइ हुन्छ। तर हरेक दिन त्यति कमाइ हुन्छ भन्ने छैन।
“कहिले पाँच–छ सय हुन्छ, कहिले त्यो पनि हुँदैन। कामै नपाएको दिन रित्तै फर्किनुपर्छ,” उनी भन्छन्।

 

रौतहटको कठरिया नगरपालिका–९, डुमरिया श्रीरामको जन्मघर हो। गाउँमा उनको साढे सात धुर जग्गामा कच्ची घर छ। रोजगारीको खोजीमा करिब २५ वर्षअघि काठमाडौं आएका उनी अहिले ग्वार्कोमा भाडाको कोठामा बस्दै आएका छन्। ज्वाइँ, भाइ र भिनाजुसहित चार जना बस्ने कोठाको मासिक भाडा चार हजार रुपैयाँ छ।

श्रीरामको परिवारमा श्रीमती,एक छाेरा र पाँच छोरी छन्। आर्थिक अवस्था कमजोर भएकै कारण छोरीहरूको पढाइ धेरै अघि बढाउन सकेनन्।

“छोरीहरूलाई चार–पाँच कक्षासम्म पढाएँ। त्यसपछि पढाउन सकिएन। विवाह गरेर पठाएँ,” उनी सुनाउँछन्।
छोरा भने कक्षा १० सम्म पढे। आर्थिक अवस्थाकै कारण त्यसपछि उनको पढाइ अघि बढ्न सकेन। अहिले उनी भारतको राजस्थानमा कपडा सिलाउने काम गर्छन्।

काठमाडौं बसेको करिव तीन दशक बित्न लागिसक्दा पनि श्रीरामको जीवनमा स्थायित्व आएको छैन। नियमित रोजगारी छैन। दैनिक आम्दानी निश्चित छैन। कामका लागि हरेक दिन नयाँ ठाउँ खोज्दै हिँड्नुपर्छ।

दैनिक खर्च धान्न पनि उनलाई कठिन छ। डेरामा ग्यासको सुविधा छैन। काममा निस्किएका बेला खानाका लागि प्रायः चिउराकै भर पर्नुपर्छ।

“दिनभरि साइकलमा हिँड्नुपर्छ। खाना खान पनि समस्या हुन्छ। चिउरा खाएर काम चलाउँछु,” उनी भन्छन्।
उमेर बढ्दै गए पनि काम छोड्ने अवस्था छैन। शरीरले साथ दिएसम्म साइकल चलाएरै गुजारा चलाउने उनको योजना छ। नियमित आम्दानी हुने काम पाए केही सहज हुने उनको अपेक्षा छ।

काठमाडौंमा श्रीरामजस्ता दैनिक ज्यालादारी तथा साना स्वरोजगारमा निर्भर मानिसहरूको जीवन आम्दानीको अनिश्चिततासँग जोडिएको छ। उनीहरूको रोजगारीका लागि कुनै निश्चित कार्यालय, समय वा मासिक तलब हुँदैन। जुन दिन काम भेटिन्छ, त्यही दिनको आम्दानीले घरखर्च चलाउनुपर्छ।
श्रीरामको दैनिकी पनि यही अनिश्चिततामा बितिरहेको छ।

बिहान ६ बजे साइकल लिएर निस्किने उनी साँझ ७ बजे डेरा फर्किन्छन्। भोलिपल्ट फेरि उही साइकल, उही बाटो र कामको खोजी।

तीन दशक काठमाडौंमा बिताएका श्रीरामका लागि शहर अझै पनि रोजगारी खोज्ने ठाउँभन्दा माथि उठ्न सकेको छैन।

 

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ