दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सुरु

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भइरहेको सुनुवाइमा कार्कीका कानुन व्यवसायीले बहस सुरु गरेका छन्।

सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आफूलाई आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले गत कात्तिक २० गते रिट दायर गरेका थिए। उनले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणबिनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गरेका छन्।

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट पदमुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो। सरकारले तत्कालीन अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

कार्कीले केसीलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्। कार्कीका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले सरकारको निर्णयको प्रतिरक्षामा बहस गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ