‘जोखिम घटाएरै बस्ती पुनर्निर्माण गरौँ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्थानीयको भावना र विपद्को जोखिमलाई ध्यान दिएर पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले प्राविधिक अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरण गरेर बस्ती पुनर्निर्माण गर्नुपर्ने बताए।

उनले पुनर्निर्माणलाई निजी आवासमा मात्र सीमित नगरी सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीसहित प्रभावित क्षेत्रको समग्र पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे।

थापाले पुनर्निर्माणका योजना बनाउँदा स्थानीय बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने बताए। यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने उनको भनाइ थियो।

थापाले उत्तरगया, बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मका प्रभावित क्षेत्रको अवलोकन गरी स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पुनःस्थापनाका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ