धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलाई कान्तिपुर टेलिभिजनकर्मी टेकराज जोशीले सरकारको प्रारम्भिक सक्रियतालाई निरन्तरता दिँदै परिणाम देखिने गरी काम गर्न सुझाव दिएका छन्।
जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री भट्टको सुरुवाती सक्रियताको प्रशंसा गर्दै राजनीतिक तथा प्रशासनिक क्षेत्रमा देखिँदै आएको ‘नयाँ जोगीले बढी खरानी घस्छ’ भन्ने प्रवृत्ति दोहोरिन नदिन आग्रह गरेका हुन्।
उनले मुख्यमन्त्री भट्टका लागि यो कार्यकाल राजनीतिक जीवनकै महत्वपूर्ण र निर्णायक चरण हुनसक्ने उल्लेख गर्दै भाषणभन्दा परिणाममा जोड दिनुपर्ने बताएका छन्।
जोशीले असारमै ल्याउनुपर्ने बजेट राजनीतिक खिचातानीका कारण अझै आउन नसक्दा प्रदेशको अर्थतन्त्र प्रभावित भएको भन्दै तत्काल बजेट ल्याउन मुख्यमन्त्री भट्टलाई सुझाव दिएका छन्। उनका अनुसार बजेट जनमुखी, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने खालको हुन आवश्यक छ।
विगतका राम्रा कामलाई निरन्तरता दिँदै अधुरा योजना पूरा गर्ने र नयाँ कार्यक्रम छनोट गर्दा वास्तविक आवश्यकता तथा जनताको प्राथमिकतालाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।
जोशीले मुख्यमन्त्री भट्टका लागि कर्मचारीतन्त्र र बिचौलियाबीचको सम्भावित साँठगाँठ अर्को ठूलो चुनौती रहेको बताएका छन्।
सुदूरपश्चिममा लामो समयदेखि राजनीतिक पहुँच र शक्तिका आधारमा केही कर्मचारी ‘मालदार’ मानिने कार्यालय तथा अड्डाको वरिपरि घुमिरहेको आरोप लगाउँदै उनले त्यस्ता प्रवृत्तिमाथि नियन्त्रण गर्न सुझाव दिएका छन्।
‘मुख्यमन्त्रीले चाहेर मात्र सबै कुरा सुधार्न सकिँदैन,’ जोशीले लेखेका छन्, ‘जब सम्म प्रशासनिक संयन्त्रभित्र रहेका गलत प्रवृत्तिलाई पहिचान गरेर त्यसलाई नियन्त्रण गरिँदैन।’
उनले कुन कर्मचारी इमानदारीपूर्वक काम गरिरहेका छन् र को कर्मचारी बिचौलियाको स्वार्थ समूहसँग जोडिएका छन् भन्ने विषयमा निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताएका छन्।
राजनीतिक पहुँच वा माथिल्लो तहसँगको सम्बन्धका आधारमा कसैलाई संरक्षण दिने प्रवृत्ति दोहोरिए त्यसको सबैभन्दा ठूलो असर मुख्यमन्त्रीकै छविमा पर्ने चेतावनी पनि जोशीले दिएका छन्।
मुख्यमन्त्री भट्टले अहिले देखिएको उत्साहलाई कायम राख्दै प्रदेशको प्रशासनलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउनुपर्ने उनको सुझाव छ।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु