जातीय विभेदविरुद्ध उदाहरणीय सन्देश : दलितको शवमा क्षेत्रीको काँध

‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुदैन् ।
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिले मानिसको महानता उसको जातमा होइन, उसको हृदय र व्यवहारमा हुन्छ भन्ने सन्देश दिन्छन् ।

कैलालीको गोदावरीमा शुक्रबार देखिएको एउटा दृश्यले यी पंक्तिलाई व्यवहारमै चरितार्थ गरिदिएको छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोल निवासी ६८ वर्षीय गंराराम सेवाको अन्तिम संस्कारका क्रममा क्षेत्री समुदायका एक व्यक्तिले शवलाई काँध दिनेदेखि चिता निर्माण र दाहसंस्कार व्यवस्थापनसम्म सक्रिय सहभागिता जनाए ।

मलामीहरूबीच अपरिचितजस्ता देखिएका ती व्यक्ति शवलाई काँध दिँदै चिता बनाउनसमेत खटिए । मृतकका सन्तानले चितामा अग्नि दिएपछि अन्य मलामीहरू चिता जलिरहेको हेरिरहेका बेला उनी भने चिता राम्ररी जलाउन सहयोग गरिरहेका थिए ।

उनी को हुन् भन्ने जिज्ञासा भएपछि परिचय खुल्यो-उनी डोटीको जोरायल गाउँपालिका–बडाखेत घर भएका क्षेत्री समुदायका व्यक्ति रहेछन् ।

अझ भावुक बनाउने कुरा के थियो भने, मृतक गंराराम उनकै कपडा पसलमा लुगा सिलाउने परियार समुदायका व्यक्ति थिए । पसलमा काम गर्ने व्यक्तिप्रतिको आत्मीय सम्बन्धलाई उनले जातीय सीमाभन्दा माथि राखे र अन्तिम यात्रामा पनि साथ दिए ।

समाजमा अझै दलितले डेरा नपाउने, छिमेकीसँग सामाजिक तथा धार्मिक सम्बन्ध राख्दा समेत विभेद खेप्नुपर्ने अवस्था देखिन्छ । यस्तो परिवेशमा दलित समुदायका व्यक्तिको अन्तिम संस्कारमा गैरदलित समुदायका व्यक्तिले काँध दिनेदेखि चिता निर्माणसम्म खुलेर सहभागी हुनु जातीय छुवाछूतविरुद्धको महत्वपूर्ण मानवीय सन्देश बनेको छ ।

मलामीहरूले उनको साहस, उदारता र उच्च मानवीय भावनाको प्रशंसा गरे । उनीहरूको भनाइमा यस्तै व्यवहार समाजका अन्य गैरदलित समुदायमा पनि विकास हुन सके जातीय छुवाछूत र विभेद अन्त्य गर्न ठूलो योगदान पुग्नेछ ।

मृत्युको अन्तिम यात्रामा जातले होइन, मानवताले साथ दियो ।
गोदावरीको त्यो चिताले एउटा गहिरो सन्देश छाडेर गयो-मानिस ठूलो जातले होइन, दिलले हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ