बाढीमा फसेका नेपालीलाई स्वदेश फर्काउन चीनको सक्रियता

काठमाडौं । चीनले आफ्नो भूभागमा बाढी तथा पहिरोका कारण अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रयास तीव्र बनाएको जनाएको छ।

चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतको केरुङ बन्दरगाहमा हिमनदी भत्किएपछि आएको पहिरोका कारण विभिन्न देशका नागरिक प्रभावित भएका थिए। उनीहरूको उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपाली नागरिकलाई स्वदेश फर्काउन चीनले आवश्यक सहयोग गरिरहेको बताएका हुन्।

प्रवक्ता गुओका अनुसार नेपालका बाढी प्रभावितका लागि चीनले ५० टन विपद् राहत सामग्री काठमाडौं पठाएको छ। राहत सामग्रीको पहिलो खेप काठमाडौं आइपुगिसकेको जानकारी उनले दिएका छन्।

त्यस्तै, नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउन चीनले सुरुङ उद्धारमा दक्ष दुई टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ।

चिनियाँ पक्षले नेपाली अधिकारीलाई विपद् प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रहबाट प्राप्त विवरण, जलविज्ञानसम्बन्धी तथ्यांक तथा माथिल्लो क्षेत्रमा बनेको अवरोधयुक्त ताल (ब्यारियर लेक) सम्बन्धी पूर्वसूचना उपलब्ध गराएको प्रवक्ता गुओले बताएका छन्।

उनका अनुसार आइतबार दिउँसोसम्म सम्पर्कमा आएका सबै चिनियाँ नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी जोखिम क्षेत्रबाट स्थानान्तरण गरिएको छ।

यद्यपि, केही चिनियाँ तथा अन्य विदेशी नागरिक अझै सम्पर्कविहीन वा बेपत्ता रहेको भन्दै चीनले खोज तथा उद्धारलाई निरन्तरता दिएको जनाएको छ। बेपत्ता विदेशी नागरिकको पहिचान तथा आवश्यक व्यवस्थापनका लागि चीनमा रहेका सम्बन्धित देशका दूतावाससँग समेत समन्वय भइरहेको प्रवक्ता गुओले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ